सु स्वागतम्

मैथिली प्रेमी सम्पर्ूण्ा मित्रगणके एहि व्लग पर हार्दिक स्वागत अछि । अप्पन माटि पानिके प्रेम हमरा लोकनि के उत्कर्षपर पहंुचाबैत रहै

मंगलवार, 30 नवंबर 2010

मनोबाद

त्यसै त धेरै दिन भएको हुनु पर्छ...अचेल पहिले जस्तो फोनको भर पनि रहेन । खै, के भएको होला..दिन त यसै कति कटेछन्। अचम्म लाग्छ...सम्झिनु पनि कति हो कति! कतै मटैहबाको बगरमा मालजाल चराउन गएका ती दिनहरु जस्तै हराए होलान् । होला त ? यो मोबाइलको घण्टी बज्या बज्यै...कानै खाई दिने रैछ…काम न काजको फोन हुन्छ...मरि गए सुनिने होइन । एक बार त नगई भएन्...पश्चिम पट्टी सूर्यको राप पनि रातो हुदै कम भएको छ । जाडो को दिन हेर्दा हेर्दा बित्ने रैछ...अस्ति भर्खर सान्दाई ले ल्याई दिनु भएको सालले गज्जबको गर्मी हुने रैछ भनि रानुले ल्याएर दिएकी थिइन्..खै कता राखेको थिए..अचेल बिर्सिन पनि कति बिर्सेको मैले..साँझ परि सक्यो के गर्ने..खाना पकाउनै पर्ने..बिहे गरे पनि आखिर सान्दाई जस्तै कल्ले किचलो बेहोरी रहोस....सानै मा मज्जा थियो...मान्नै पर्छ..जुन केटी देख्यो मन पर्ने, यस सँग बिहे गर्न पाए भन्न पाएको छैन अर्को त झन् राम्री..तर दुखनी र रधिया त साँच्चै बहुतै राम्री हो बा...माइको बरकेशी रानी जस्तो...राजीबले त्यै रधियाकै लागि मारस्साबको कर्चि खाएको हो...सम्झियो आफ्नै जिउ दुखेर आउछ, कनियाँ भनि जिस्काएको त हो मोराले...मार्.स्साबले देखि हालेछन्, बाँसको कर्चि त बुढाको हात मै हुने...केटीहरु पनि कति नक्कचरी आखिर त्यै राजीब सँग टाप कसिन..तर बित्थामा राजीबले मारस्साबको कर्चि खाए...अर्को अगहनमा मैले समातेको हो धान खेतमा दुवैलाई..ललटाको दौनी चल्दै थियो..धानको दौनी अब कति सजिलो भएछ, पहिले रात-रात भर गोरू जोत्यो..हे..हे..हु..हु गर्यो..फेरी धान उडायो..चोरेर लगेको धानले कम कचरी र मुरही खाएको हैन..माइ लाठी लिएर हामीलाई धपाई रहनु हुन्थ्यो तर म र मघैया पोखरीको पछवरिया कातमा हलुवनियाको दोकान सम्म पुगेरै छाड्थ्यौ..मघैया अहिले बुढो जस्तो देखिन्छ..मोराको छोरी पनि तेह्र बर्षको भई अरे..म भन्दा त एक बर्षात कान्छै हो...गाँउमा सबैले किशोरी काकाको कान्छो छोरा बिग्रियो भन्छन्..के गर्नु मन परेको केटी दुश्मनको छोरी हो भनि बाउले बिहे गर्न दिएनन्..बुबाको पनि के दोष गाँउको करमा...जमुनाको बुवा पर्धानीमा नउठेको भए बुवाले जित्ने पक्का थियो..गामनै पार्टि-पटवैल भएको थियो...कोठी भरी कारतुस र बन्दुक भरिएको थियो हाम्रो दलानमा...रमनीको माई बीचमा नआएको भए भुल्लैर काकाको मृत्यु कसैले रोक्न सक्दैन थियो..बुढियालाई त्यहि बेला हुक्काको अमल लागेर बीचमा कता बाट परिछन्...भुलटुनमाले दागेको दुवै गोली रमनीको माइलाई लाग्यो...१ बिघा खेत बेचेर अदालत र पुलिसलाई दिएपछि मात्र केश रफादफा भएको थियो ।
पुलिस त उनै हुन के गर्नु जुन ब्यबस्था आएपनि पैसा भए..अस्ति मात्रै जमाहिरको छोरी बलात्कार केश दर्ता गरेनन्..महेशवाले पचास हजारको बुजो लगाएको छ अरे! यो देशमा सत्य सेवा सुरक्षणम् त नामै मात्र हो असली त पाए जति भक्षणम् हो...कसको विश्वास गर्नु..यिनले Lord भन्ने न्याधीश पनि त त्यस्तै छन् । मेरा सान्दाई पनि त्यस्तै छन्..वकिलहरुको त भरै छैन बा! घरमा त बुढाको बोली कहिले काटि नसक्नु छ बाहिर त झन के होला के होला..कबिरहा काकाले ठिक्कै भन्नु हुन्थ्यो यो सानै देखि वकिल बन्ला जस्तो छ, बने तर कहिले राम्रो काम गरेका हैनन् । गाँउमै रमाइलो छ...मान्छे त ठिक छन् तर खै यो Internet/face book पुस्ताले गाँउमा पनि के गर्न सक्छ र ! गाँठे बिना कम्प्युटरको जीवन नै नबित्ला जस्तो भइ सक्यो । तर किन हो..यति बिध्न भर परेको हामी ?गाँउमा माकुले पर्धान मन्त्री होस कि ईन्द्रेको बाउ चन्द्रे कसैलाई केहि मतलब छैन तर जीवन चलेकै छ तर हामी खै के भ’को..एक दिन समाचार नसुनी के-के नपुगे जस्तो। माइलाई कति पल्ट सान्दाई र मैले पनि यहि आउनु भनेकै हो...मरि गए मान्दिनन्...अब यो उमेरमा धुवाँ धुलो खान शहराँ आउन्न भन्नु हुन्छ..ठुलो दाई २-४ बर्षमा १ पल्ट आउने हो, मान्छे बिदेशी नै भए...छोरा छोरी सबै सुनौलो कपाल, निलो आँखाका भए...दाईको त नाम मात्रै सबै भाउजु जस्तै भएछन् । तर विदेशी नै भएपनि भाउजुले माइलाई खुब माया गर्नु हुन्छ...माई सँग हुने कोशलिया पैसा भाउजुले त दिनु भएको हो...त्यो पनि मैले सकेको हो..मेरो अँग्रजी सुट पनि उनले हाल्दिएर लगाएको हो । साथी सँगतमा कम्ता ईज्जत धानेको छैन त्यो सुटले...जमुनाले कति मायाले भनेकि थिइन बिहेमा अँग्रजी सुट लगाएर आउनु ल! ...जमुना! हाम्रो घर-घरको त्यत्रो दुश्मनी हुदाँ पनि मेरै लागि भनेर कहाँ कहाँ पुग्थिन्...अचम्म छ जीवन पनि उहिले एक दिन पनि हामी छुट्टिएर बस्न सक्दैनौ जस्तो लाग्थ्यो...आज साढे चार बर्ष भएछ....आखिर बाँचेकै छौ...तर उमँग त केहि पनि रहेन...पहिलो बर्ष त पागल जस्तै भएको थिए..हरिव्दारमा ७ महिना जति बसे...त्यो होटलको मालिक पनि राम्रै मान्छे हुन्, परदेशीलाई पनि कति माया गरेको..पाँच घण्टा काम गरेकोमा खान लाउन र बस्न दिएको थियो..तर चार-पाँच दिन त प्लेट माजेकै हो..बेरा बनेकै हो..बल्ल पछि म्यानेजरको काम पाएको थिए...कम्ता रोएको हैन । भोपाली बाबाको आश्रममा गएर भजन किर्तन..आँसु पनि कति आउन सकेको ।
कति सम्झिन सकेको जमुनालाई...तर कति माया गरेकी उनले पनि लुकि लुकी भएपनि फोन गरि रहन्थिन । टेलीफोनको तार चोरी भयो रे ! टेलिकमले समयमा कहिल्यै काम गर्ने हैन...मोबाइलले पनि राम्रो सँग टिप्दैन । चोनहाले गज्जबको कहानी सुनाउदै थियो...भाउजुले जाडो बढेर सर्दी लागेको छ एउटा कफ सिरफ ल्याइदिनु भन्नु भएको..मोराले खै मोबाइलमा के सुने छ...सिरक किनेर लग्दियो...हे..हे...गाँउ भरिका मान्छे पेट मिचि मिचि हाँसेका...कति दिन देखि फोनमा ट्राई गरेको लाग्दै लाग्दैन..एउटा फोनको भर थियो...विचरा जमुना श्रीमान् जनतान्त्रिकको शिकार भए..उनलाई पनि के थाह..आफ्नै गाँउका केटाहरुले मारदेलान भनेर..हैन भने पैसा भकै मान्छे हुन् त्यति जाबो २ लाख त तिरदिने हुन...काँखको छोरी पनि उपचार गर्दा गर्दै बिति हाली...हे दैब कति दुख दिएको जमुनालाई...जनतान्त्रिकका केटाहरुलाई पछि समातिएर जेल पनि चलान भए तर मर्ने मरिहाले..फर्किने हैनन् । ती केटाहरुपनि सिरहाको जेल तोडेर भागी हाले..सिडिओ र एसपी को मिलोमतो थियो